काठमाडौँ । चन्द्रपुर नगर कार्यपालिकाको कार्यालयमा स्थायी दरवन्दीका कर्मचारीहरु हुँदा हुँदैपनि पछिल्लो समय करारका कर्मचारीको हालीमुहाली हुँदै गइरहेको पाइएको छ । उक्त नगरपालिकामा अधिकृत सरहका कर्मचारी समेत महिनौदेखि जिम्मेवारी विहीन झै भएर बस्ने गरेको पाइएको हो ।
चन्द्रपुर नगरपालिका कार्यालयमा सरुवा भएर आएका निजामती सेवाका प्रशासन र प्राविधिकतर्फका कर्मचारीलाई नगरपालिकाले उचित जिम्मेवारी नदिदा उनीहरुको कार्यसम्पादन समेत करार सेवाका कर्मचारीहरुले गरिरहेका छन् ।
नगरपालिका कार्यालयमा हाजिर भएदेखिका केही करार कर्मचारीहरु दिनभर चिया पसल र बरण्डामा दिन बिताएर बस्नु बाहेक कुनै जिम्मेवारी कार्यालयले दिन सकेको देखिदैन ।
‘यहाँ आउने निजामती सेवाका कर्मचारी र प्राविधिक सेवाका कर्मचारीलाई रैथाने भएर करार सेवामा जागिर खादै गरेका कर्मचारीले अयोग्य प्रमाणित गर्ने र जिम्मेवारी नदिएर बाध्य भई अन्यत्रै सरुवा लिएर जाने अवश्था बनाउने कार्य भएको प्राविधिक कर्मचारीहरु बताउँछन् ।
प्रशासनिक ढाँचामा दुईजना इन्जिनियरको दरवन्दी रहेको चन्द्रपुर नगरपालिकामा दरबन्दीभन्दा बढी प्राविधिक कर्मचारी कार्यरत रहेका छन् ।
नगरपालिकामा घर नक्शा सम्बन्धी ऐन, योजनाको लगत इष्टिमेट तथा अन्तिम मुल्याङ्कन गर्ने अधिकार करार सेवाका प्राविधिकलाई नभए पनि चन्द्रपुरमा सवै काम करार सेवाका प्राविधिकहरुले गर्ने गरेको त्यहाँका कर्मचारी स्वयं नैं बताउँछन् ।
एक प्राविधिकले भने ‘जागिर जीवन भर करोडौको ठुला ठुलो आयोजनाहरु, योजनाहरु र लगत इष्टिमेट तथा अन्तिम मुल्याङ्न गरि सेवा गरियो चन्द्रपुर आएपछि करारको हालिमुहाली भएका कारण कुनै जिम्मेवारी नपाउँदा मानसिक तनावमा जागिरे जीवन दुई तीन वर्ष खेर गैरहेको अनुभव लागेको छ ।’
पछिल्लो समय नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी निकै र उनीहरूकै हालीमुहाली हुँदा विभिन्न किसिमको कमिसन, सेटिङ, अनियमितता र भ्रष्टाचारको आरोप समेत लाग्दै आएको छ । करारे कर्मचारी मार्फत काम गराएर आफूले झमेला भोग्नु नपर्ने भएको हुँदा केही कर्मचारी र जनप्रतिनिधि हरु नै त्यो कार्यमा लागेको स्थानीयवासी बताउँछन्।
नगरपालिकामा काम चुस्त दुरुस्त नभई स्थायी दरबन्दीका कर्मचारी हुँदाहुँदै उनीहरुलाई बेकामे बनाएर करारका कर्मचारीको म्याद थपेर नगरपालिकाले नगरको स्रोत र साधनको दुरुपयोग गरिरहेको स्वयम कर्मचारीहरु समेत बताउँछन् । आर्थिक चलखेल र जनप्रतिनिधि कै सेटिङमा पनि नगरपालिकाले करार कर्मचारीहरुको म्याद बर्सेनि थप गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्