काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टचार काण्डका अरु फाइल पनि क्रमशः खुल्दै जाने बताएका छन् ।
शनिबार काठमाडौमा आयोजित उज्यालो भविष्य संस्थाको दशौँ वार्षिकउत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले सरकारको पहिलो उद्देश्य जनतालाई सुशासन दिनु रहेको बताए । उनले जोसुकै परे पनि अब भ्रष्टाचार काण्डका फाइल खोल्न नरोकिने प्रतिक्रिया दिए ।
मन्त्री गुरुङले भ्रष्टाचारका कारण राजनीतिप्रति जनतामा निराशा छाएको भन्दै त्यसलाई आशामा परिणत गर्नुपर्ने धारणा राखे । सुशासन दिने काममा पछि नहट्ने भन्दै मन्त्री गुरुङले सरकार ढल्छ भने पनि सामना गर्न तयार रहेको बताए ।
मन्त्री गुरुङले भ्रष्टाचारको कुनै जात, धर्म, लिङ्ग, वर्ण, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता नहुने समेत तर्क गरे । उनले भ्रष्टाचारका काण्डको अनुसन्धान गर्दा लहरो तान्दा पहरो थर्किने जस्तो भएको भन्दै बिचमै हराउन नदिने दाबी गरे ।
त्यस्तै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु समन्वयकारी भुमिका निर्वाह गरेर अगाडि बढुनुपर्नेमा उज्यालो भविश्य दोलखाका अध्यक्ष राजन बस्नेतको विशेष जोड थियो ।
प्रतिक्रिया दिनुहोस्