Logo

मेघनाथ पहाडी

श्रावण ४, २०८० बिहीबार

बूढानीलकण्ठका १९ विद्यालयमा खुला प्रतिश्पर्धा मार्फत प्रधानाध्यापक छनौट


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधी, २०८०  बमोजिम समुदायिक विद्यालयमा खुला प्रतिश्पर्धाबाट प्रधानाध्यापक छनौटका लागि आवेदन खुलाएको हो ।

नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकाहरुलाई आवेदन दिन आह्वान गरेको छ । जसका लागि आवेदकहरुले आधारभूत तह कक्षा १ देखी ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । आधारभूत तह कक्षा १ देखी ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललित विक्रम सिंहले बताउनुभयो ।

प्रतिश्पर्धाको आधारमा छनौट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व हुनुपर्छ भनेर नगरले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाई छ । यस अघि प्रावि, निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव र सिनियर भएका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनौट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउन आवेदन खुलाएको बताउनुभयो ।

आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाईएको छ ।

बूढानीलकण्ठ नगरपालिका भित्र ११ मावि, ५ आधारभुत र ३ वटा प्रावि गरी कुल १९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

उम्मेद्धारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफै उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन नगरले अनुरोध गरेको छ । अवेदन फारम १ प्रती, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षित योग्ताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखी हालसम्मको नियुक्तिपत्रको प्रतिलिपी आफुले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपी, र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्ताव समेत पेश गर्नुपर्ने जनाईएको छ । – रासस