Logo

भवानी कार्की

श्रावण ८, २०८० सोमबार

भीनपा-७ मा विपद् जोखिम पूर्व सूचना प्रणाली जडान


काठमाडौँ । भीमेश्वर नगरपालिका वडा नं -७ मा विपद् जोखिम पूर्व सूचना प्रणाली पहिलो फेज जडान गरिएको छ । वडाको जलधार क्षेत्र हात्तिछहरा नजिकै सिंहराम गाउँको माथिल्लो भागमा पहिरो पूर्व सूचना प्रणाली अन्तर्गत पहिलो फेज उपकरण जडान गरिएको हो ।

विपद् जोखिम तथा पूर्व सूचना प्रणाली अन्तर्गत चार वटा उपकरण हुने भएपनि हाललाई दुईमात्र उपकरण जडान गरिएको हो । ती मध्ये पहिलो, जोखिम पहिचान अन्तर्गत बर्षातको पानी जाँच्ने, र दोस्रो जमिनको चिस्यान तथा टेम्प्रेचर पत्ता लगाउने मनिटरिङ सिस्टमको जडान गरिएको पूर्वाधार विकास प्रमुख तथा विपद् व्यवस्थापन इन्जिनियर सुरेस राउतले जानकारी दिए ।

उनले भने, विपद् व्यवस्थापन भित्र धेरे भैपरी आउने जोखिम छन् ती मध्ये पहिरोको पूर्व सूचनाको लागी पहिलो फेजको काम भएको छ । जसमा हाल बर्षातको पानी नाप्ने र जमिनको चिस्यान नाप्ने उपकरण मात्रै राखिएको छ । दोस्रो फेजमा बाँकी उपकरण राखेपछि मात्र जोखिम पूर्व सूचना प्रणाली पुर्ण हुनेछ ।

त्यस्तै पहिलो फेजमा जडान भएका उपकरणबाट धेरै भन्दा धेरै जोखिमबाट बाँच्न र बँचाउन सकिने अपेक्षा रहेको वडाध्यक्ष विनोद तामाङले जनाए । वडामा जोखिमको सूचना आउने वित्तिकै मानवीय क्षती हुन नदिन सचेत गराउने भएकाले उपकरण प्रभावकारी रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

विपद् जोखिम पूर्व सूचना प्रणाली यस अघि भीमेश्वर नगरपालिका १ शुष्पा क्षमावतीमा पनि जडान गरिएको छ । भीमेश्वर ७ मा गरिएको यो योजना भने दोस्रो हो ।