Logo

बागमती पेज

श्रावण २३, २०८० मंगलबार

उपत्यका स्तरीय अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा सुरु


काठमाडौँ । विद्यार्थीको बास्केटबल प्रति लगाव र रुचि बढाउनको लागि छैटौँ संस्करणको बीआईबी उपत्यकास्तरीय अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा सुरु भएको छ । सन् २०१६ देखि सुरु भएको यो उपत्यका स्तरीय खेलमा छात्र र छात्रा गरी २४ र १६ टिम सहभागी छन् ।

‘हामी अहिले उपत्यका केन्द्रित रहेर यो प्रतियोगिता आयोजना गरिरहेका छौँ तर अब करिब २ वर्षमा हामी यसलाई राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छौँ,’ विद्यालयका प्रधानाध्यापक हरि लामाले बताए ।

कुल १० लाख बजेटसहित मंगलबारदेखि सुरु भएको यो प्रतियोगितामा २९ स्कुल सहभागी छन् । विजेता र उपविजेता स्कुललाई ट्रफीका साथ बिदाइ गरिनेछ ।

सन् २०२० र २०२१ मा कोभिडको कारण सम्पन्न हुन नसकेको यो प्रतियोगितामा सहभागी हुने स्कुलको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो वर्ष छात्रतर्फ १६ स्कुल र छात्रातर्फ १२ स्कुल रहेकोमा यो वर्ष बढेर २४ र १६ स्कुल पुगेको छ ।

अघिल्लो संस्करणमा बुद्ध एकेडेमीले छात्रतर्फको स्पर्धामा जित हासिल गरेको थियो भने छात्रातर्फ भने भक्तपुर निष्ट विजेता बनेको थियो ।

१८ दिनसम्म चल्ने यो प्रतियोगिता छात्रतर्फ ३ टिमको आठ समूह र छात्रातर्फ ४ टिमको ४ समूह फर्म्याटमा हुनेछ । लिग कम नक आउट अनुसार चल्ने यो खेलका सबै नियमहरू फिबा अनुसार हुने आयोजकले जानकारी दिएको छ ।