Logo

बागमती पेज

श्रावण २४, २०८० बुधबार

दोधारमा प्रधानमन्त्री : पहिला चीन जाने कि अमेरिका ?


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै इटाली भ्रमणपछि अब चीन भ्रमणको तयारी सुरु भएको छ ।

प्रधानमन्त्री भएकै दिनदेखि पहिलो भ्रमण चीन हुने कि भारत भनी चर्चाकै बीचमा उनी भारतको भ्रमण गरेका थिए । त्यहाँबाट आएपछि चीन जाने तयारी सुरु भएको थियो । तर, यसैबीच उनी खाद्य सुरक्षा कार्यक्रममा इटालीको भ्रमणमा गएर आए ।

इटाली भ्रमणबाट आएपछि चीन भ्रमणको तयारी चलिरहँदा अमेरिका भ्रमणको तयारी पनि सुरु भएको छ । समाचार स्रोतअनुसार अब प्रधानमन्त्री प्रचण्ड पहिला चीन जाने कि अमेरिका भन्ने दोधारमा परेका छन् ।

दुवै देशको भ्रमणको तयारी तीव्र रूपमा चलिरहेको छ । तर पहिला कहाँ जाने अन्योल कायमै छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘चीन र अमेरिका दुवै देशका लागि निमन्त्रणा आएको छ । दुवै देशले तोकेको मिति जुधेको कारण पहिला कहाँ जाने कन्फर्म हुन सकेको छैन, त्यसको गृहकार्य भइरहेको छ ।’

२३ सेप्टेम्बरदेखि चीनमा एसियाली खेलकुद हुँदैछ । त्यसको उद्घाटन कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री प्रचण्डलाई भ्रमण गराउने चीनको तयारी छ ।

तर, त्यही समयमा अमेरिकाको न्यूयोर्कमा संयुक्त महासभामा पनि भाग लिन जाने कार्यक्रम तय भएको छ । त्यो सभामा सेप्टेम्बर २१ देखि २३ सम्म विभिन्न देशका सरकारको प्रमुखहरूको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशको कार्यक्रम जुधेको कारण पहिलो कहाँ जाने बारेमा बालुवाटारदेखि परराष्ट्र मन्त्रालयसम्म त्यसको गृहकार्य भइरहेको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका अनुसार दुवै देशको कार्यक्रम जुधेकाले परराष्ट्र मन्त्रालयले तालिका मिलाउने काम गरिरहेको छ । एक दुई दिनमै यसको टुङ्गो लाग्ने सचिवालय स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार दुवै देशको कार्यक्रमको कार्यतालिका हेर्दा प्रधानमन्त्री प्रचण्ड पहिला अमेरिका नै जानुपर्ने देखिएको छ । ‘प्रधानमन्त्री प्रचण्डले पनि अमेरिका जाने मन बनाइसकेका कारण पहिलो भ्रमण अमेरिका हुन्छ, त्यस लगतै चीन जाने सम्भावना रहेको छ,’ स्रोत भन्छ ।

महासभामा सेप्टेम्बर २१ देखि २३ सम्म सरकार प्रमुखको सम्बोधन रहेको कारण नेपालका सरकार प्रमुख प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुरुमै राखेर कार्यतालिका बनाउने गृहकार्य भइरहेको छ ।

स्रोतका अनुसार महासभामा प्रचण्डले बोल्ने कार्यक्रम २२ सेप्टेम्बरका लागि राखिएको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २० या २१ मा अमेरिका पुग्नुपर्ने हुन्छ । महासभाको कार्यतालिका हेरफेर गरेर २१ तारेखमा राख्न सकिन्छ कि नेपालको तर्फबाट प्रयास भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

यस विषयमा साउन १८ गते प्रधानमन्त्री प्रचण्डले नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनसँग छलफल गरेका थिए । अमेरिकी दूतावास पनि यसको गृहकार्यमा लागेको बुझिएको छ । राष्ट्रसंघीय महासभाको कार्यतालिका हेरफेर गर्न सकिन्छ कि सकिदैन, त्यस बारेमा पनि विचार विमर्श भइरहेको स्रोतले दावी गरेको छ ।

चीनमा सेप्टेम्बर २३ मा एसियाली खेलकुदको उद्घाटन छ । त्यसमा सहभागी हुने गरी अमेरिकाबाट सिधै चीन जाने या नेपाल आएर जाने त्यसको पनि तालिका मिलाउने कार्य भइरहेको छ । त्यस्तै, अक्टोबर ८ मा एसियाली खेलकुदको समापन छ, त्यसमा जाने हो कि ? त्यस कोणबाट पनि कुराकानी भइरहेको सचिवालय स्रोतको दावी छ ।

यता, चीनले भने अमेरिकाभन्दा पहिले चीनको भ्रमण गराउन चाहेको बुझिएको छ । यसअघि पनि भारतभन्दा पहिले चीन लैजान प्रयास गरिएको थियो तर प्रधानमन्त्री प्रचण्डले पहिलो भ्रमण भारतबाट सुरु गरे ।

२०७९ चैतमा चीनको हेनान् प्रान्तमा आयोजना भएको एसियाली विकास मञ्च बैठक (बोआओ) मा अतिथिको रूपमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड भारतलाई प्राथमिकतामा राखेका थिए ।

यसपटक पनि एसियाली खेलकुदकै उद्घाटनमा अतिथिको रूपमा लैजाने चीनको तयारी छ तर फेरि अमेरिकाबाट निमन्त्रणा आएको छ । यसमा पहिला कहाँ जाने, नजाने निर्णय लिने अधिकार प्रधानमन्त्री प्रचण्डमा निहित छ ।