Logo

बागमती पेज

श्रावण ३२, २०८० बिहीबार

अपरेशन हनी ट्रयाप: दोलखा र सिन्धुलीका दुई पक्राउ


काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हनी ट्रयापमा पारेर लाखौँ रकम असुली धन्दामा संलग्न भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘अपरेशन हनी ट्रयाप’ नाम दिएर गरिएको खोजतलासका क्रममा उक्त अपराधमा संलग्न रहेका दुई जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुली घर भई भक्तपुर बस्ने आयुष्मा भन्ने आशिका रजन मगर र दोलखा घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने राजु खत्री रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले युवती समूहलाई प्रयोग गरेर सामाजिक सञ्जालमार्फत सम्पर्क गराई फोनसमेत आदानप्रदान गरी भेटघाट गर्न बोलाएर रकम ठगी गर्ने धन्दा चलाएका भेटिएको छ।

त्यसरी भेट गराएपछि गिरोहले झुठ्ठा मुद्दा लगाएर फसाइदिने चेतावनीसहित डर, धम्की र त्रासमा पारी रकम ठगी गर्ने गरेका थिए। यसरी पीडितहरुबाट उनीहरुले ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेकमार्फत रकम असुल गरेको पाइएको छ।

उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट युवतीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा लगि भेटघाट गराउँथे।

त्यसपछि पीडितमाथि निगरानी राखेर घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायतका सम्पूर्ण विवरणहरु लिने गर्दथे। त्यसपछि झुटा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, धम्की तथा त्रास देखाइ मोलमोलाई गरेर ठूलो रकम माग गर्ने गरेका पाइएको छ।