Logo

बागमती पेज

श्रावण ३२, २०८० बिहीबार

विद्यालयको पठनपाठन एक साताका लागि स्थगन


भक्तपुर : चाँगुनारायण नगरपालिकाले एक साता विद्यालयको पठनपाठन स्थगन गर्न अनुरोध गरेको छ । नगरपालिका क्षेत्रभित्र आँखा पाक्ने रोग फैलिएसँगै विद्यालयको पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।

नगर शिक्षा समितिको बैठकले नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयले आवश्यकता अनुसार बढीमा एक सातासम्म पठनपाठन स्थगन गर्ने निर्णय गरेको हो । नगरपालिकाको शिक्षा शाखा प्रमुख विर बहादुर खड्काका अनुसार बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो । आँखा पाक्ने रोगले विद्यार्थीहरु धेरै पीडित भएको विद्यालय र विद्यालय व्यवस्थापन समितिबाट धेरै गुनासो आएकोले सो निर्णय गरेको उनले जानकारी दिए ।

रोगबारे गुनासो आएपछि नगरपालिकाले चिकित्सकसँग परामर्श लिएको उनले बताए । ‘धेरै गुनासो आएपछि चिकित्सकको टोलिलाई पालिकाभित्रका १० वटा विद्यालयमा सर्वे गरेका थियाैँ । विद्यालयमा उपचार, काउन्सिल र औषधिसमेत वितरण गरेका थियाैँ, ‘ उनले भने, ‘सोही मेडिकल टिमले दिएको रिर्पोटको आधारमा शिक्षा समितिले विद्यालय र समुदायको स्थितीको आधारमा विद्यालय व्यवस्थापन समितिले आवश्यकताको आधारमा पठनपाठन स्थगित गर्न सक्ने निर्णय गरेको हो ।’

उनले विद्यालयको पठनपाठन बन्द भएपनि प्रशासनिक कार्य भने सञ्चालन हुने जानकारी दिए । विद्यालयको पठनपाठन स्थगनको कारण विद्यार्थीको पढाईमा परेको प्रभावलाई व्यवस्थापन गर्न हिउँदे विदाबाट कटौती गरी समायोजन गरिने नगरपालिकाले जनाएको छ ।

विद्यालयले आवश्यकताको आधारमा भोलि शुक्रबारदेखि पठनपाठन स्थगन गर्न सक्ने शाखा प्रमुख खड्काले बताए ।