Logo

बागमती पेज

भाद्र १, २०८० शुक्रबार

सदन खुलाउन प्रधानमन्त्री र सभामुखले थप पहल गर्ने


काठमाडौँ । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल सकिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच छलफल भएको हो ।

भेटमा सभामुखले सदन नचल्नु राम्रो नभएको भन्दै प्रधानमन्त्रीलाई सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षसँग गम्भीरतापूर्वक छलफल गरिदिन आग्रह गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीसँग भन्नुभयो, ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । प्रधानमन्त्री ज्यूले सत्ता पक्ष र प्रतिपक्षीसँग गम्भीरतापूर्वक छलफल गरिदिनु पर्यो ।’

उहाँले आम जनताले पनि सदन अवरोधलाई राम्रो नमानेको भन्दै सभामुखको हैसियतमा आफूले पनि जिम्मेवारीपूर्वक पहल गरेको बताउनुभयो । ‘समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाम निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन ।’ सभामुखको भनाई थियो ।

छलफलका क्रममा प्रधानमन्त्रीले आफूले पनि सदन खुलाउन भूमिका खेल्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

हकङ्कबाट आएको ‘ब्रेक शु’सहितको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ । जसकारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।