Logo

बागमती पेज

भाद्र १, २०८० शुक्रबार

केही दिन मेघगर्जनसहित भारी वर्षाको सम्भावना


काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।