Logo

बागमती पेज

भाद्र ६, २०८० बुधबार

संघीय संसदमा उपस्थित राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच दुई बुँदे सहमति


काठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको संघीय संसदमा उपस्थित राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच दुई बुँदे सहमति भएको हो ।

सुन तस्करी घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान, छानबिन गरि सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेबारे सहमति भएको छ । सुन तस्करी घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान, छानबिन गरिरहेको छ ।

पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने सहमति भएको छ ।

सहमति पत्रमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाही र जनता समाजवादी पार्टीका प्रमुख सचेतक अब्दुल खानले हस्ताक्षर गर्नु भएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउने विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मुख्य सचेतक रमेश लेखकलगायतका नेताहरू सहभागी हुनुभएको थियो । त्यस्तै बैठकमा जसपा र रास्वपाका भने प्रमुख सचेतक मात्र सहभागी हुनुहुन्थ्यो ।