Logo

बागमती पेज

भाद्र २०, २०८० बुधबार

अस्पतालमा पालो कुर्दाकुर्दे इमर्जेन्सी वाडमा बालिकाको ज्यान गयो


काठमाडौँ । दुई घण्टा कुर्दापनि उपचार नपाएपछि कान्तिबाल अस्पतालको इर्मेजेन्सी कक्षमै बालिकाको ज्यान गएको छ । समयमा उपचार नपाउँदा काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० घर भएकी पाँच वर्षिया रेजिशा गोपालीको ज्यान गएको हो ।

उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल अस्पताल पराएका थिए । उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा यस्तो अप्रिय घटना भएको हो ।

इमर्जेन्सी वार्डमै टोकन लिएर पालो कुर्नु पर्ने कस्तो व्यवस्था ? यस्ता विषयमा सरकार कहिले गम्भीर बन्ने ? इमर्जेन्सी भन्ने वित्तिकै गम्भीर अवस्थाका बिरामी उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो । बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर बालिकाको ज्यान जानु यो कुनै सानो तिनो घटना होइन ।

पाँच वर्षीया रेजिशालाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ः०० बजे कान्तिको इमर्जेन्सी कक्षामा र्पुयाएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न दवाव दिए । हजुबुवा कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५ः४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर झनै सिथिल बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।

तर जती अनुनय विनय गरेपनि कृष्णबहादुरले नातिनीको लागि पालो पाएनन् । रेजिशाको अवस्था निकै भयनक भइसकेको थियो । सिथिल भएकी नातिनीलाई लिएर बसेका उनले दुइघण्टा कुरे तर पालो पाएनन् । कान्ति बाल अस्पतालको कठोर नियमका कारण अन्तत साँझ ७ः१० मा रेजिशाले संसार छोडिन् ।

समयमै अस्पताल पर्याउँदापनि अस्पतालको लापरवाहिका कारण निर्दोश बालिका फुल्न नपाउँदै अस्ताइन । रेजिशा मात्रै त्यस्तो पात्र होइनन् जो अस्पतालको लापरवाहिका कारण ज्यान गुमाउन पुग्छन् । वर्षेनी हजारौँको सँख्यामा मानिसहरुले ज्यान गुमाउँदै आएका छन् । अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो ।

अस्पतालले बिरामीको वास्ता नगर्दा आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिने, विश्यमा ठुलो मानिस बनाउने सपना चकनाचुर भएको छ । छोरीको सुन्दर भविष्यको लागि परदेशमा पसिना बगाइरहेका बुबाको सपनाले हार खाएको छ ।

अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । अस्पतालको लापरबाहिका कारण नै रेजिशाको मृत्यु भएको आफन्तको दावी छ । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।