Logo

मेघनाथ पहाडी

भाद्र २८, २०८० बिहीबार

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि, मिङसो र सुहाङले दिए दागबत्ती


काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।

नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए । अन्तिम बिदाइको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरु पनि उल्लेख्य संख्यामा पशुपतिमा छन् ।