Logo

बागमती पेज

आश्विन २, २०८० मंगलबार

वैज्ञानिकले तोके पृथ्वीसँग उल्कापिण्ड ठोक्किन सक्ने सम्भावित मिति


पृथ्वीलाई यदि कुनै चिजबाट सबैभन्दा धेरै खतरा छ भने त्यो हो उल्कापिण्ड । एउटा उल्कापिण्ड ठोक्किंदा पृथ्वीबाट डाइनोसरको पूरै प्रजाति नै समाप्त भएको थियो ।

अहिले एउटा अर्को उल्कापिण्ड पृथ्वीतिर आइरहेको वैज्ञानिकहरुले बताउँदै आएका छन् । उनीहरुले उक्त उल्कापिण्ड पृथ्वीसँग कहिले ठक्कर खान्छ भन्ने सम्भावित मितिसमेत तोकेका छन् ।

पृथ्वीतर्फ आइरहेको भयानक उल्कापिण्डको नाम बेनू हो । यो उल्कापिण्ड आगामी ६ वर्षमा पृथ्वीको नजिक आउनेछ ।

वैज्ञानिकहरुका अनुसार १५९ वर्षपछि अर्थात् सन् २१८१ सेप्टेम्बर २४ मा उल्कापिण्ड पृथ्वीसँग ठोक्किंन सक्ने सम्भावना छ । उल्कापिण्ड-पृथ्वीको टकराव ११ वटा परमाणु बम विस्फोटनले निम्त्याउने ध्वंस बराबरको क्षमता हुनेछ ।

डेलीस्टारका अनुसार प्रलयको यो मिति अहिलेका लागि निकै टाढा छ । तर पनि अमेरिकी अन्तरिक्ष संस्था नासाले यसबाट बँच्ने तयारी सुरु गरिसकेको छ ।

उल्कापिण्डको दिशा परिवर्तन गर्न सकिन्छ भन्ने प्रयासमा नासा लागेको छ । हालै नासाको एउटा यान बेनू उल्कापिण्डबाट माटो तथा चट्टानको नमूना लिएर पृथ्वीतर्फ आइरहेको छ । सो यान सेप्टेम्बर २४ मा पृथ्वीमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यान अमेरिकाको उटास्थित ग्रेट साल्ट लेक मरुभूमिको कुनै स्थानमा अवतरण गर्नेछ ।

उल्कापिण्डबाट नमूना संकलन गरी फर्किएको नासाको क्याप्सुुल OSIRIS-REx का परियोजना व्यवस्थापक रिस बन्र्सका अनुसार उक्त यान सोही कामका लागि सात वर्षअघि प्रक्षेपण गरिएको थियो । आफूहरु सो परियोजनाको अन्तिम चरणमा रहेको उनले बताएका छन् ।

बेनू उल्कापिण्ड पृथ्वीसँग ठक्कर खाएमा त्यसबाट हुने क्षति निकै भयानक हुने भएता पनि यस्तो ठक्कर खाने सम्भावना २७०० मा एक मात्रै रहेको उनको भनाइ छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट डाइनोसर युग समाप्त गरिदिने उल्कापिण्डको तुलनामा बेनु उल्कापिण्डको चौडाइ २० गुणा कम छ । तर पनि यदि पृथ्वीसँग त्यो ठक्कर खायो भने त्यसको विध्वंस कल्पनाभन्दा बाहिरको हुनेछ ।

जमिनमा मात्रै होइन यो उल्कापिण्ड समुद्रमा खस्यो भने पनि भयानक प्रलय हुनेछ । उक्त घटनामा विश्वका कैयौं जीववहरुको प्रजाति नै समाप्त हुनसक्छ । मानव इतिहासले हालसम्म नभोगेको भयानक प्रलय यसले उत्पन्न गर्नेछ ।

नासाका अनुसार पृथ्वीमा यो उल्कापिण्ड ठोक्किँदा १० किलोमिटर चौडा खाडल बन्नेछ । यो उल्कापिण्ड ठक्कर खाएको ठाउँको एक हजार किलोमिटर आसपासमा कुनै पनि चिज बँच्नेछैन र सबै ध्वस्त हुनेछ । यदि यो उल्कापिण्ड समुद्रमा खस्यो भने नतिजा झनै डरलाग्दो हुनसक्छ किनकि त्यसबाट भयंकर सुनामी उठेर आपपासका टापु तथा तटीय क्षेत्रहरुलाई ध्वस्त बनाउनेछ ।

सो उल्कापिण्डबाट नमूना लिएर आएको नासा यानमा रहेको OSIRIS-REx क्याप्सुल एउटा सानो फ्रिज आकारको छ । यसभित्र २५० ग्राम माटो तथा चट्टानको नमूना छ । यो यानले सन् २०२० मै सो नमूना संकलन गरेको हो र त्यसपछि उसले पृथ्वीतर्फको यात्रा सुरु गरेको थियो । यो हाल ४५ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला यसले ज्वालामुखी विस्फोटको लाभाभन्दा दुईगुणा बढी तापक्रमको सामना गर्नुपर्नेछ ।