Logo

बागमती पेज

आश्विन २, २०८० मंगलबार

साढे ३ घण्टा अवरुद्ध भएको अध्यागमनको सर्भर सञ्चालनमा आयो


काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।

‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, ‘अहिले १ बजेर ३० मिनेटपछि सञ्चालनमा आएको छ ।’

सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको भुसालले दाबी गरे ।

सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले सर्भर डाउनका कारण केही समस्या भएको तर अब हल हुने अवस्थामा पुगेको जानकारी आएको बताए ।

‘आन्तरिक सर्भर डाउन भएपछि अध्यागमनको काम म्यानुअल्ली भइरहेको थियो । केही लाइन बढेको थियो,’ प्रवक्ता झाले भने, ‘जसका कारण ५ देखि १५ मिनेटसम्म ढिलाइ भइरहेको थियो । तर, यात्रु रोकिने वा विमानस्थल सञ्चालन प्रणालीमा ठूलो समस्या छैन ।’