Logo

बागमती पेज

आश्विन ३, २०८० बुधबार

संविधानको पूर्ण कार्यान्वयनका लागि सबैको साझा सहभागिता आवश्यक’


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानले गरेका व्यवस्थाहरूको पूर्ण कार्यान्वयन गर्नसके जनताको जीवनयापनमा सुधार आउने बताउनुभएको छ ।

संविधान दिवसको पूर्व सन्ध्यामा चलचित्र विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले संविधानको पूर्ण कार्यान्वयनका लागि सबैको साझा सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान प्रदत्त अधिकारहरूको जनताले पूर्ण उपभोग गर्ने वातावरण बनाउन सरकार लागिरहेको पनि बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले समाजमा सकारात्मक परिवर्तन र जागरण ल्याउन कला क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै समाजमा व्याप्त कुरीति, कुसंस्कार र अनियमितता विरुद्ध नेतृत्वदायी भूमिका खेल्न कलाकार तथा सिनेकर्मीहरुसंग आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सत्ता सञ्चालकहरूको कमी,कमजोरी औँल्याइ दिएर शासन व्यवस्थालाई सही दिशामा हिँडाउन कलाकार तथा पेसाकर्मीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालको मौलिक संस्कृति र जीवनशैलीलाई विश्व मञ्चमा पुर्‍याउन नेपाली चलचित्रले ठूलो भूमिका खेलेको बताउनुभयो ।

त्यस अवसरमा सञ्चारमन्त्री शर्माले कलाकारहरू मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मीनबहादुर भाम तथा चलचित्रकर्मी कल्याण कोषलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट सम्मान गर्नुभयो ।