Logo

बागमती पेज

आश्विन ३, २०८० बुधबार

उत्तरपुस्तिका साटफेर भएको भन्दै विद्यार्थीहरुले जलाय त्रिभुवन विश्वविद्यालयको गाडी


काठमाडौँ । उत्तरपुस्तिका साटफेर भएको भन्दै विद्यार्थीहरुले त्रिभुवान विश्वविद्यालयको प्रादेशिक गाडी तोडफोड गरी जलाएका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा  आन्दोलन गरिरहेका विद्यार्थीहरुले परिक्षा नियन्त्रण कार्यालयको बा १७ च ८२३८ नम्बरको प्रादेशिक गाडी जलाएका हुन् ।

उत्तरपुस्तिका साटफेर भएको विषयलाई लिएर आन्दोलन गरिरहेका विद्यार्थीहरुले विहान ५ बजेको समयमा उक्त गाडी जलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालका अनुसार विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मानविकी संकायमा अध्ययनरत एक जना छात्राको २०७८ मंसिरमा लिएको परीक्षाको उत्तरपुस्तिका साटफेर गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको थिए । उक्त छात्राको अंग्रेजी पुस्तिका साटफेर भएको विद्यार्थीहरुको दावि छ ।

विद्यार्थी संगठनले ती छात्राको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकासँग साटिदिएको बताउँदै आएका छन् ।

क्याम्पस प्रशासनले ती छात्रालाई पुनः परीक्षा दिन लगाएको र नतिजा प्रकाशन गर्न ढिलाइ गरेपछि विद्यार्थीहरू थप आन्दोलित भएका थिए ।

आन्दोलनरत विद्यार्थी, महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईंबीच मंगलबार विराटनगरकै डिग्री क्याम्पसमा छलफल पनि भएको थियो । तर छलफल निष्कर्षमा नपुगेपछि आन्दोलनरत विद्यार्थीले तिमिल्सना र प्रसाईंलाई डिग्री क्याम्पसको कार्यालयभित्रै थुनेका थिए ।

थुनिएका क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईंलाई राति १ बजे उद्धार गरिएको थियो ।

विद्यार्थीहरूले मंगलबार राति पनि आन्दोलन गरेको र बिहानपख गाडी जलाएको डिएसपी दाहालले भनाइ छ ।