Logo

बागमती पेज

आश्विन ३, २०८० बुधबार

अब ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुगिने


काठमाडौँ । काठमाडौँमै पहिलोपटक ४५ मिनेटमै सूर्यविनायक देखि रत्नपार्क सम्म पुगिने सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । बुधबार संविधान दिवसका अवसरमा पारेर छोटो समयमा आवतजावत गर्न सकिनेगरी द्रुत बस सेवा सञ्चालनमा आएको हो ।

यातायात व्यवस्था विभागका सुचना अधिकारी इश्वरी दत्त पनेरुका का अनुसार बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन् । छुट्टै लेन बनाएर सञ्चालनमा ल्याएको द्रुत सेवाबाट अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू चलाउन पाइने छ ।

द्रत सेवाका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा विभाजन गरिएको छ भने त्यो समयमा अन्य सवारी साधन चलाउन पाउने छैनन् ।

द्रत सेवा लेखेका बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँने छैनन् ।  एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउने नियम राखिएको छ ।  कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाइनेछ त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्कसम्म  ४५ मिनेटमा पुगिने आंकलन रहेको छ ।

सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहनेछन् ।  रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा बस स्टप रहने यातायत विभागले जनाएको छ ।

कार्यालय समयमा अत्यधिक जाम हुने भएकाले काठमाडौँको जाम र भिडलाई मध्येनजर गर्र्दै द्रत सेवा सञ्चालनमा ल्याइएको हो । द्रत वसका लागि यात्रु चाढाउने र ओराल्ने निश्चित स्थान तोकिएको र ३० सेकेन्ड भित्र दुवै काम भइसक्नुपर्ने नियम रहेको छ ।

नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाउन लागिएको हो। द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै हुँदैनन्। यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै चलाइने छ। यद्यपि यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिएको छ ।