Logo

मेघनाथ पहाडी

आश्विन ४, २०८० बिहीबार

अव्यवस्थित केवल तार व्यवस्थापन गर्दै बूढानीलकण्ठ


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले अव्यवस्थित रुपमा रहेका केबल तार व्यवस्थापन गर्न शुरु गरेको छ । नगरलाई सुन्दरीकरण गर्न र विभिन्न किसिमका समस्यालाई समाधान गर्न नगरले तार व्यवस्थापन कार्य शुरु गरेको हो ।

बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले जथाभावी खुल्ला रुपमा तार रहँदा विभिन्न किसिमका दुर्घटना र आगजनी हुने खालका समस्या नगरभित्र आईपरेकाले नगरले यस्तो योजना बनाएको बताउँनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका भित्र विगतमा हामीले हेर्दा अधिकांश आगजनीका घटना अव्यवस्थित रुपमा रहेका तारका कारणले घटेको पाईयो । त्यसकारण पनि यसबाट सचेत रहन हामी तारको व्यवस्थापनमा जुटेका हौं ।”

नगर प्रवक्ता नवराज भट्टराईले बूढानीलकण्ठ–७ गोल्फुटारबाट शुरु गरिएको अभियानको पहिलो चरण बूढानीलकण्ठ मन्दिर नारायणस्थान सम्मको सडक दाँया बाँयाको भागमा गरिने जानकारी दिनुभयो । त्यपछि नगर भित्रका मुख्य सडक भएका स्थानमा गर्दै नगरभित्र सबै ठाउँमा निरन्तरता दिने नगरको तयारी रहेको उहाँको भनाई छ ।

सुरक्षाको दृष्टिकोणले जोखिम भएकाले पनि भुईंमा लतारिएका, प्रयोग नगरिएका र पुराना तारले थप समस्या निम्त्याउने भएकाले तार व्यवस्थापन गर्नु अत्यावश्यक भएको नगर प्रवक्ता नवराज भट्टराईले जनाउनुभयो ।

अव्यवस्थित केवल तार व्यवस्थापन समितिका संयोजक राम कुमार रोक्काले विभिन्न दुर्घटनाका घटना न्युनिकरण गर्न र नगरापलिकालाई सौन्दर्यकरण गर्न विभिन्न केवलहरुको समन्वयमा काम अगाडी बढाएको बताउनुभयो । अव्यवस्थित तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका समेत उहाँको भनाई छ ।