Logo

बागमती पेज

आश्विन ८, २०८० सोमबार

नेपाल–चीन द्विपक्षीय भेटवार्ता जारी


काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् ।

द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भइरहेको छ । यो भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा हस्ताक्षर हुनेछ ।

द्विपक्षीय भेटवार्ता यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लीले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए । त्यसपछि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।