Logo

बागमती पेज

आश्विन ८, २०८० सोमबार

‘मौलिक कथामा अभिनय गर्ने रहर परदेशी २ ले पूरा गरिदियो’


काठमाडौं । अभिनेत्री केकी अधिकारीले मौलिक कथावस्तुका फिल्ममा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको बताएकी छन् । सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मले सबै नेपालीको कथावस्तु समेटेको बताइन् ।

उनले भनिन्, ‘यो फिल्मले मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु ।’ उक्त प्रेसमिटमा निर्देशक नारायण रायमाझी र अभिनेता प्रकाश सपुत पनि थिए ।

केकीले निर्देशक नारायण रायमाझीका अघिल्ला फिल्मलाई आफूले दर्शकको रुपमा हेर्ने गरेको बताइन् । ‘अहिले कलाकार बनेर खेल्ने अवसर मिल्यो,’ उनले भनिन् ।

गायक समेत रहेका डेब्यु अभिनेता सपुतले पहिलो फिल्म भएकाले आफू उत्साहित रहेको बताए । ‘जब मैले यो फिल्म गर्ने निर्णय गरें, त्यतिबेला अहिलेको जस्तो चर्चा थिएन,’ उनले भने, ‘सुरुको बेला फिल्म गर्दैछु भन्ने कुरालाई लिएर ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’

पहिलो फिल्म भएकाले उत्साहसँगै डर पनि भएको उनले बताए । फिल्मले हाम्रै समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा निर्देशक रायमाझी आशावादी सुनिए । ‘नेपालगञ्जमा मेरा अघिल्ला फिल्म राम्रो चलेका थिए,’ उनले भने, ‘अहिलेको फिल्मलाई पनि देशभर लगायत नेपालगञ्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’

संसार घुमे पनि मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने सन्देश फिल्मले दिने उनले बताए । उनले भने, ‘मेरा कथामा समाजको यथार्थता उतार्ने कोसिस गरेको हुन्छु । यो फिल्ममा पनि हाम्रै कथा उठान गरिएको छ ।’

फिल्मको टिमले नेपालगञ्जमा जीभीएन कलेज र युनाइटेड कलेजमा पुगेर समेत नाटक प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपुत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुसी थिए । सोमबार कोहलपुरमा टिमले प्रस्तुति दिनेछ ।

प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिम दुई दिनदेखि नेपालगञ्जमा छ । शनिवार नेपालगञ्ज पुगेर त्यहाँका फिल्म हलहरु भिजिट गरेको टिमले आइतबार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो ।

फिल्मलाई राजेश वंशल र निर्देशक समेत रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको अभिनय छ । फिल्म असोज २६ गते प्रदर्शनको तयारीमा छ ।