Logo

बागमती पेज

आश्विन ११, २०८० बिहीबार

दोलखाबाट ४ किलो सुन बरामद, तीन जना पक्राउ


काठमाडौँ । दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताए । पक्राउ परेका तीनै जना दोलखाका रहेका छन् ।

डिएसपी खड्काले भने, ‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

गएराती प्रहरीले चलाएको अपरेशनको क्रममा दोलखाको विगु गाउँपालिका वडा नम्बर १ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका राज भनिने १८ वर्षीय पेम्बा तामाङ र लामबगरको गोंगरका २० वर्षीय माधव मगर रहेका छन् ।

चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई सुन सहित पक्राउ गरेको हो ।

प्रहरीले सिंटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई चार किलो सुन सहित पक्राउ गरेको थियो। त्यसपछि उनको बयानको आधारमा पेम्बा तामाङ र माधव मगरलाई पनि पक्राउ गरिएको हो ।

दोलखा प्रहरीले तीनै जना पक्राउ परेको पुष्टि गरेको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।