Logo

मेघनाथ पहाडी

आश्विन १२, २०८० शुक्रबार

गुह्येश्वरीमा सन्ध्या आरती भजन सुरु


काठमाडौँ । पशुपतिको गुह्येश्वरी शक्तिपीठमा सन्ध्या आरती भजन सुरु गरिएको छ । गत भाद्र २७ गते बुधबारदेखि तन्त्रचर्चा परिवारको सक्रियतामा साप्ताहिक आरती सुरु गरिएको हो ।

भदौ २७ गते तन्त्रचर्चा परिवारको तेस्रो वार्षिकोत्सवको अवसर पारेर सुरु गरिएको आरती हाल प्रत्येक बुधबार हुने गरेको छ । आगामी दिनमा दैनिक रूपमा सन्ध्या आरती गर्ने लक्ष्य रहेको तन्त्रचर्चा परिवारका सदस्य डा. दयाराम श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको दर्शन गर्नु अघि सतीदेवीको गुह्यस्थान पतन भएको मानिने गुह्येश्वरीको दर्शन गर्नुपर्ने शास्त्रीय मान्यता छ । पशुपतिमा आरती सुरु भएको लामो समय भएपनि गुह्येश्वरीमा हुन सकेको थिएन । त्यसकारण गुह्येश्वरीमा पनि सन्ध्या आरती गर्न आवश्यक रहेकाले हाललाई हप्ताको एकदिन भए पनि आरती सुरु गरेको तन्त्रचर्चा परिवारका अध्यक्ष तन्त्रविद् महेश्वर जुजु राजोपाध्यायले बताए ।

भदौ २७ गते गुह्येश्वरीलाई पञ्चबलि दिएर आरती सुरु गरिएको हो ।

स्थानीयहरु, जनप्रतिनिधि र धर्मप्रति आस्था राख्नेहरूको पहलमा करिव ९ वर्षदेखि सबैले इच्छा गरेको कामको श्रीगणेश गरिएको तन्त्रचर्चा परिवारका सदस्य सरोजराज श्रेष्ठले जनाए ।