Logo

बागमती पेज

आश्विन १२, २०८० शुक्रबार

क्यानको अध्यक्षमा चन्द निर्विरोध, सचिवमा खड्का निर्वाचित


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न साधारण सभाले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

चन्द अध्यक्षमा निर्विरोध दोहोरिएका हुन्। यस्तै उपाध्यक्ष रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका हुन्।

सचिवमा भने पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। सचिवसहित केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनमा खड्काले प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै सचिवमा जित दर्ता गरेका हुन्। खड्काले ४८ मत प्राप्त गरे भने मल्लले ३७ मत प्राप्त गरेका थिए।

यस्तै खुला ५ सदस्यमा धिरेन्द्र सावद (५९), दुर्गा पाठक (५४), आयुस श्रेष्ठ (५१), विरेन्द्र चन्द (३४), करन महत्रा क्षेत्री (२६) मत ल्याउँदै निर्वाचित भएका छन्।

महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल ४७ मत, बागमती प्रदेशबाट दिवाकर घले ४६ मत, गण्डकी प्रदेशबाट सुदीप शर्मा ५२ मत, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट ४९ मत, मधेश प्रदेशबाट माधव कर्माचार्य ४२ मत सहित निर्वाचित भए ।

मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन्।