Logo

बागमती पेज

आश्विन १४, २०८० आईतबार

राष्ट्रिय लिगमा बूढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने


काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय बास्केटबल लिग (एनबीएल) मा बूढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्न लागेको छ । क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी लिगमा प्रतिस्पर्धाको लागि तयार भएको जानकारी गराएको हो ।

क्लबले पत्रकार सम्मेलन मार्फत लिगका लागि तयार टिमका खेलाडि र टिम जर्सि सार्वजनिकरण गरेको थियो । नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा लिग सिंगल राउन्ड रोबिनको आधारमा असोज १२ देखि २७ गतेसम्म चल्नेछ । लिगका सम्पुर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुने छ ।

प्रतियोगिताको उद्घाटन खेल असोज १२ गते टाइम्स र कीर्तिपुर विच भएको थियो । बूढानीलकण्ठले आफ्नो पहिलो खेल लिगको तेस्रो दिन अर्थात असोज १४ गते किर्तिपुर बास्केटबल क्लब संग खेल्ने छ ।

लिगको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने नेपाल बास्केटबल संघले जनाएको छ ।

बूढानीलकण्ठका नगर प्रवक्ता नवराज भट्टराईले खेलकुद क्षेत्रमा विगतदेखि नै विभिन्न ढंगबाट सहयोग गर्दै आएको बताए । उनले बूनपा–८ मा भएको बास्केटबल कोटलाई व्यवस्थित र सुविधा सम्पन्न ढंगले बनाउन पहलन गर्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा बूढानीलकण्ठ नगरपालिकाले आफ्नै नगरभित्र ठुला खेल प्रतिश्पर्धा गर्ने खालका योजना अघि सार्ने उनको भनाई थियो ।

लिगमा राष्ट्रिय स्तरको बास्केटबल क्लब विशाल मिलन केन्द्र, बूढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई, बूढानीलकण्ठ बास्केटबल क्लबका अध्यक्ष रिसभ श्रेष्ठ, रिलायन्स कलेजका प्रतिनिधि, प्रशिक्षक प्रेम होना, म्यानेजर प्रविन भण्डारी लगायत सम्पुर्ण खेलाडि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।