Logo

बागमती पेज

आश्विन १९, २०८० शुक्रबार

पछिल्लो १२ दिनको अवधिमा काठमाडौँमा ६ सय जनामा डेंगु सङ्क्रमण


काठमाडौँ । पछिल्लो १२ दिनको अवधिमा काठमाडौँमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।


काठमाडौँमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमित ७२१ पुगेका हुन् । विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । काठमाडौँमा यसअघि सङ्क्रमण दर धरानमाझैँ उच्च नभए पनि अब कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु सार्ने लामखुट्टे देखिइरहने उनले बताए ।


पछिल्लो समय काठमाडौँका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको उनले जनाए । ‘डेंगु फैलियो भने कुनै एउटा ठाउँ अर्थात् पकेट एरियामा तीव्र गतिमा फैलिन सक्छ । विगतमा पनि काठमाडौैँमा सीमित स्थानमा डेंगु आउटब्रेक भएको थियो । अबका दिनमा सोही खालको रिक्स कायम छ ।’ उनले भने ।


गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।

डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन्