Logo

बागमती पेज

आश्विन २४, २०८० बुधबार

एमाले जिल्ला उपाध्यक्षविरुद्ध बालयौन दुर्व्यवहारको आरोप, जाहेरी दर्ता


सुर्खेत । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । उक्त विषय यतिबेला प्रहरी समक्ष पुगेको छ । शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ ।

मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक कारबाही प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।

नेता शाहीमाथि नाबालिक छोरीलाई करणी प्रयासको आरोप, अहिले छैनन् सम्पर्कमा

के छ अडियोमा ?

भाइरल अडियोमा शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैँ बेहोरिदिने र बदलामा समवेदनशील अङ्गको फोटो पठाउनुपर्ने र यौन सम्बन्ध राख्न दिनुपर्ने लगायतका कुरा गरेको सुनिन्छ ‌।

अडियोमा उनले भनेका छन्, ‘म धेरै लामो कुरा गर्ने पक्षमा छैन, हँ ! पढ्ने कुरा सबै फिक्स गरेको छु, यो कुरा बाहिर कहीँ पनि नभन्नू ।’

त्यसपछि उनले ‘मैले मागेको कुरा दिन्छौँ नि !’ भनेर यौन प्रस्ताव गरेका छन् । उनले समवेदनशील अङ्गको फोटो पठाइदिन समेत प्रस्ताव गरेका छन् । यो विषयमा उपाध्यक्ष शाहीको प्रतिक्रिया लिन खोज्दा उनी फोन सम्पर्कमा आएनन् । एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले पार्टीको बैठक बसेर धारणा बनाइने बताए ।

उनले प्रदेश सरकारको संयन्त्र प्रयोग गरेर मुद्दा दर्ता गरिएको बताए । यद्यपि उपाध्यक्ष शाही आफ्नो सम्पर्कमा नरहेको उनको भनाइ छ । महतले यस प्रकरणको अर्को पनि अडियो रहेको र आफूले सुनेको बताए । उक्त अडियोमा किशोरीले प्लान गरेर फसाउन खोजिएको सन्देशसहितको कुरा रहेको र उपाध्यक्ष शाहीको समेत कमजोरी रहेको उनको भनाइ छ ।