Logo

मेघनाथ पहाडी

कार्तिक २०, २०८० सोमबार

फिक्कलमा प्रथम महिला तथा पुरुष अध्यक्ष कप शुरु


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम अध्यक्ष कप-२०८० शुरु भएको छ । हिजो आईतबारबाट खुला महिला प्रतियोगिता र पालिका स्तरिय पुरुष तर्फको खेल शुरु भएको हो ।

फिक्कल गाउँपालिका ६ को तिनखण्डे खेलमैदानमा भएको खुला महिला प्रतियोगितामा  खोटाङ १, उदयपुर १ र गाउँपालिका भित्रका ३ वटा गरी जम्मा ५ वटा टिम सहभागि रहेका छन् ।

पुरुष तर्फको खेल पालिका स्तरिय हो । यसमा पालिका भित्रका १२ वटा टिम सहभागि रहेका खेलकुद विकास समिति संयोजक शिव बरालले बागमती पेजलाई जानकारी दिए ।

महिला र पुरुष तर्फका प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमशः २५, १५ र १० हजार पुरस्कारसमेत प्रमाणपत्र र मेडल उपलब्ध गराउने पालिका उपाध्यक्ष राजु बरालले जनाएका छन् । उनका अनुसार आगामी वर्षमा पनि यस खेललाई निरन्तरता दिईनेछ ।

महिला तथा पुरुष खेलाडीहरुलाई खेल प्रति थप प्रेरणा मिलोस् भनेर खेल यस वर्षदेखि शुरु गरिएको पालिका अध्यक्ष पार्वती सुनुवारले बताईन् ।

अध्यक्ष सुनुवारले भनिन्, “साना तथा पालिका स्तरिय खेल खेल्दै यसैको मनोबलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिश्पर्धासम्म खेलाडी पुग्ने गर्छन् । त्यसै कारण खेलाडीलाई हौसल्ला होस् र आत्मबल बडोस् भनेर पनि हामीले पालिका स्तरिय महिला तथा पुरुष अध्यक्ष कप शुरु गरेका हौं ।”