Logo

मेघनाथ पहाडी

कार्तिक २३, २०८० बिहीबार

बूढानीलकण्ठले गर्यो ‘सफलताका लागि सङ्घर्ष कथासङ्ग्रह’ विमोचन


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा शिक्षकले लेखेका विद्यार्थीका कथा “सफलताका लागि सङ्घर्ष कथासङ्ग्रहको विमोचन” गरिएको छ । आज बुधबार हात्तिगौंडा स्थित नगरपालिकाको सभाहलमा सफलताका लागि सङ्घर्ष कथासङ्ग्रह पुस्तकको विमोचन गरिएको हो ।

१९ वटा कथाहरु रहेको संग्रहमा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्यापनरत रहेका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको कथा लेखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बैरागी काईँला (तिलबिक्रम नेम्बाङ)ले स्थानीय सरकारका धेरै काम कर्तव्य र अधिकार रहेको बताए । उनले स्थानीय तहभित्र पनि शिक्षकले विद्यार्थीका कथा लेख्दा विद्यार्थीलाई सकारात्मक प्रभाव पर्ने धारणा राखे । अन्य स्थानीय तहमा यस खालका नयाँ काम नदेखेको भन्दै यो कथा संग्रहले आगामी पुस्तालाई केही गर्नुपर्छ भन्ने हौसला प्रदान गर्ने उनको भनाई छ ।

पहिला भन्दा आजको युगमा सामाजिक, आर्थिक तथा अन्य धेरै परिवर्तन भएको बताए । पहिला शिक्षक देख्दा डराउनु पर्ने स्थिति थियो भने अहिले शिक्षक र विद्यार्थीको सम्बन्ध भनेको नजिकको हुने गरेको पाएको बताए । उनले विद्यार्थीले शिक्षकलाई सम्मान गनुपर्ने खालको पहिलाको स्थिति परिवर्तन भएर अहिले विद्यार्थीलाई पनि शिक्षकले सम्मान गर्नुपर्ने बेला आएको छ । यो किसिमको पढाईले विद्यार्थीको आत्म सम्मान हुने गरेको समेत बताए ।

पुस्तक सम्पादक बिना थिङले विद्यार्थीका कथा शिक्षकले लेख्न त्यति सहज नभएको बताए । उनले कथा लेख्ने विद्यार्थीका सबै सूचना प्राप्त भएपछि धेरै मेहनत गरेर कथाको ढाँचामा ल्याउन सकिएको बताए । पुस्तकमा १९ वटा कथा रहेको भन्दै सम्पादक थिङले शिक्षक भन्दा शिक्षिकाले लेखेका कथा धेरै छनौट हुँदा विद्यार्थी शिक्षक भन्दा शिक्षिकासँग बढि नजिक रहेको जनाए ।

नगर प्रमुख मिठाराम अधिकारीले शिक्षा क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास नहुने धारणा व्यक्त गरे । उनले शिक्षा परिवर्तन गर्न बूढानीलकण्ठले विभिन्न योजना बनाएर कार्यन्वयन गर्ने तयारीमा रहेको समेत बताए ।

नगर उपप्रमुख अनिता लामाले सिर्जनाहरुलाई कहिल्यैपनि रोकिन दिनु नहुने बताईन् । श्रृष्टा र सर्जकलाई अविरल बग्न दिनुपर्ने भन्दै उनले सिर्जना भनेको एउटा अविरल गंगा जस्तै कलकल बग्न दिनुपर्ने धारणा राखिन् । सफलताका लागि संघर्ष कथा संग्रहमा कथाहरुको लेखकिय शैली र पात्रहरुको चयन उल्लेख्य रहेको भन्दै प्रशंसा समेत गरिन् ।

शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले पुस्तकमा विद्यार्थीका संघर्षका कथाहरु समावेश गरिएको बताए । उनले जति धेरै संघर्ष गर्यो पछि त्यति धेरै सफलता पाईने उनको भनाई थियो ।