Logo

मेघनाथ पहाडी

मंसिर ९, २०८० शनिबार

बुढानीलकण्ठ मेलामा भक्तजनको भीडभाड


काठमाडौँ । बुढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशी मेलामा भक्तजनको भीडभाड रहेको छ । हरिबोधिनी एकादशिको अवसर पारेर मंसिर ७ देखि ११ गते सम्म हुने ५ दिने मेलामा ठुलो संख्यामा भक्तजन उपस्थिती जनाएका छन् ।

बुढानीलकण्ठ मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको मेला लाग्दै आएको छ । जसकारण यस मन्दिरमा ठुलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले नगरपालिकाले विषेश सुरक्षा व्यवस्था गर्दै आएको छ । विषेशगरी यस मन्दिरमा सनातन धर्म अनुसार असार शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु चार महिना पछि आफ्नो निन्द्राबाट यहि पवित्र दिनमा उठेको पाईन्छ । त्यस्तै भगवान विष्णुले सबैभन्दा पहिले तुलशीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास समेत गरिन्छ ।

नगरपालिका प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा मेला व्यवस्थापनका लागि एक हजार एक सदस्यीय मेला संचालन तथा व्यवस्थापन मुल समारोह समिति र १३ वटा विषयगत उपसमितिहरु गठन गरिएको छ ।

नगरप्रमुख अधिकारीले परापुर्वकाल देखि नै निरन्तर रुपमा बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखि पुर्णिमासम्म ५ दिन मन्दिर परिसरमा विषेश पुजा आरधाना गरिने बताए । उनले दर्शनका लागि देश तथा विदेशबाट लाखौं भक्तजनको उपस्थिति रहनेहुनाले यस समयलाई स्थानीयवासीले भव्य उत्सव तथा पर्वको रुपमा मनाउँदै आएको बताए ।

नगर उपप्रमुख अनिता लामाले सवारी साधन व्यवस्थापन गर्न र मेला व्यवस्थित रुपमा संचालन गर्न पार्किङ स्थानमा कुनैपनि शुल्क उठाउन निषेध गरिएको जनाईन् । मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, नगर स्काउट तथा स्वंमसेवकहरु परिचालन गरिएको छ ।

मेलामा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेशगरी दर्शन पश्चात पूर्वी गेटबाट निस्कने व्यवस्था गरिएको छ । बृद्धबृद्धा र असक्त अपाङ्ग भएका नागरिकलाई सुरक्षित रुपमा पूर्वीगेटबाट लाईन नराखी सहज ढंगले दर्शन गराईने व्यवस्था रहेको नगर प्रवक्ता नबराज भट्टराईको भनाई छ ।