Logo

बागमती पेज

मंसिर ११, २०८० सोमबार

मकवानपुरमा नियन्त्रणमा लिइएको बाघ चितवन ल्याइयो


काठमाडौँ । मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९:४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट शुक्रबार र आइतबार दुई जनाको मृत्यु भएको थियो ।

बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए ।