Logo

बागमती पेज

मंसिर १२, २०८० मंगलबार

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टरका सञ्चालक पक्राउ


काठमाडौं । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई उद्धार गरेको छ । उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ ।

पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।