Logo

बागमती पेज

मंसिर २६, २०८० मंगलबार

एसीसी यू-१९ एसिया कप: भारतलाई चुनौती दिँदै नेपाल


काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ ।

आईसीसी एकेडेमीको अर्को मैदानमा सोही समयमा पाकिस्तान र अफगानिस्तानबिच खेल हुनेछ । समूहगत चरणको अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रूपमा मात्र बाँकी छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।

समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई-दुई खेलिसक्दा पाकिस्तान चार अङ्कसहित पहिलो, भारत दुई अङ्कसहित दोस्रो, अफगानिस्तान दुई अङ्कसहित तेस्रो र नेपाल शून्य अङ्कसहित चौथो स्थानमा छन् । नेट रन रेट भने पाकिस्तानको १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको –२.०२४ रहेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले भारतलाई निकै ठुलोअन्तरले हराउनु पर्ने हुन्छ । त्यसपछि अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठुलोअन्तरले पराजित गर्नुपर्ने हुन्छ । मङ्गलवारको खेलसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।

समूह ‘ए’ मा हालसम्म पाकिस्तानले मात्र दुवै खेल जितेको छ । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तानले आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई आठ विकेटले पराजित गरेको थियो । भारतले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

जारी यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको छ । यू—१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदै छ ।

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै यू—१९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू—१९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।