Logo

मेघनाथ पहाडी

मंसिर ३०, २०८० शनिबार

‘मापदण्ड विपरीत शौचालय निर्माण, जनकल्याण माविको विरोध’


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित महांकालमा जनकल्याण माविको प्रवेशद्धारमा शौचालय निर्माण हुन लागेको छ । पार्क सँगै जोडिएको जनकल्याण माविको गेटमा उक्त शौचालय निर्माणका लागि जग हाल्न लागिएको छ । विद्यालयको गेटमै शौचालय निर्माण गर्न लाग्दा विद्यालयले विरोध जानाएको छ ।

विद्यालयले काठमाडौँ महानगरपालिका र वडा कार्यालयमा यस बारे जानकारी लिँदा हालसम्म कुनैपनि जानकारी नभएको र नक्सा पास बिना शौचालय निर्माण हुन लागेको विद्यालयका सहायक प्रधानाध्यापक सुरेश कुमार कटुवालले जानकारी दिए ।

विद्यालय प्रवेशद्वार तथा सडकतिर फर्काउने हो भने हाम्रो घोर आपत्ति छ, उनले भने, शौचालय वातावरण मैत्री छैन । शौचालय निर्माण गर्दा वडा, स्थानीयवासी, विद्यालय तथा अन्य सरोकारवाला लगायतसंग समन्वय नगरिएको उनको आरोप छ ।

बौद्ध क्षेत्रविकास समितिको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त शौचालय निर्माण प्रति विद्यार्थी र अभिभावकको समेत गुनासो छ । एक अभिभावकले बागमती पेजसँग भने, सामुदायिक विद्यालय भनेर हेपेर ढोका अडाडी शौचालय निर्माण गर्न लागिएको हो । यसको निर्माण प्रति हामीलाई नराम्रो अनुभुति भयो । शैक्षिक संस्थामा यस्तो काम गर्नु पाप हो । हामी पुर्ण रुपमा यसको विरोध गर्छौ ।

शैक्षिक गुणस्तर तथा विद्यार्थी सङ्ख्याका आधारमा काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमध्ये तेस्रो स्थानमा पर्न सफल जनकल्याण माविमा हाल दुई हजार पाँच सय विद्यार्थी छन् । तर विद्यार्थी प्रवेशद्वारमै मापदण्ड विपरीत भाडामा लगाउने उद्देश्यले शौचालय निर्माण गर्न थालेपछि चर्को बिरोध भएको हो ।