Logo

बागमती पेज

पुस १९, २०८० बिहीबार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण


काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको सम्मान स्वरूप तीन दिने लुम्बिनी लगायतका धार्मिक स्थलहरुको भ्रमण गराएको हो । ज्येष्ठ नागरिकहरुको चाहना अनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्वमा ज्येष्ठ नागरिकहरु धार्मिक भ्रमणमा निस्किएका थिए ।

लुम्बिनीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन, भ्रमण एबं दर्शनका लागि पौष १३ गतेदेखि भ्रमणमा निस्किएका काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक र स्वयम् सेवक गरि २५० जना भन्दा बढीको टोली भ्रमण पूरा गरेर पौष १५ गते आइतबार साँझ काठमाडौं फर्किएका हुन् । काठमाडौंको बौद्धबाट शुरु भएको उक्त भ्रमण टोलीको लागि समितिले सात वटा बसको व्यवस्थापन गरेको थियो । समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक शान्तीमाया तामाङ सदस्यहरु पशुपतिनाथ खतिवडा श्याम, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, सुरज रुम्बा, स्थानीय प्रेम लामा मोक्तान, अजिप लामा, लगायतले सहजीकरण गरेका थिए ।

पौष १३ गते सांझ लुम्बिनी पुगेको टोलीलाई लामा गुरु लाक्पा शेर्पाले गुम्बामा स्वागत गरेका थिए । पौष १४ गते बिहान लुम्बिनीको मायादेबी मन्दिर लगायतका धार्मिक स्थल अवलोकन पश्चात प्राचीन कपिलवस्तु राज्य अन्तरतको पुरातात्विक स्थल कुदान भ्रमण गरिएको थियो ।

उक्त ठाउमा भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेका थिए । उक्त स्थानको बारेमा लामा गुरु लाक्पा शेर्पा, आचार्य नुर्बु लामा लगायतले जानकारी गराएका थिए । कुदान पश्चात बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार, कनकमुनी बुध्दको जन्मस्थल निग्लिहवामा रहेको अशोक स्तम्भ लगायतको अवलोकन गरिएको थियो । तिर्थाटनको रहर हुँदाहुँदै मुख्य–मुख्य धार्मिकस्थल भ्रमणमा पुग्न नपाएका ज्येष्ठ नागरिकहरु उत्साहित देखिएका थिए । त्यसै गरि भ्रमणको अन्तिम दिन पौष १५ गते फर्कदा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा र नवलपरासी जिल्लाको सिजी शास्वत धाम समेत अवलोकन गरिएको थियो ।

निःशुल्क यातायातको ब्यवस्थापन सहित खाने बस्ने सुविधा तथा धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी भएको बताएका छन् । परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले श्री बौद्ध नाथ क्षेत्र विकास समितिको वार्षिक कार्यक्रमको बजेटबाट भ्रमणमा लगिएको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।

ज्येष्ठ नागरिक र त्यसमाथि पनि सबैजसो बौद्ध धर्मावलम्बी भएकाले लुम्बिनीलाई विशेष प्राथमिकतामा राखिएको अध्यक्ष लामाले बताए । उनले भने, “उमेर गएका वृद्धहरु पटकपटक घुमफिर गर्न नपाउने भएकाले यस वर्ष उनीहरुलाई महत्वका साथ हेरिएको हो । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ । जेष्ठ नागरिक समाजका गहना हुन् । अध्यक्ष लामाले भने , बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ नागरिकहरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको हो । आगामी दिनमा पनि ज्येष्ठ नागरिकहरुका लागि यस्ता खालका कार्यक्रमलाई हामीले निरन्तरता दिनेछौं ।