Logo

भवानी कार्की

पुस २५, २०८० बुधबार

लास आउने ठेगान नभएपछि परिवारले गर्यो कुशको शव बनाएर राजकुमारको दाहसँस्कार


काठमाडौँ । मंसिर १६ गतेनै रुसमा मृत्युवरण गर्न पुगेका भरतपुरका राजकुमार गिरीको अन्ततः परिवारले कुशको शव बनाएर दाहसँस्कार गरेको छ ।

परिवारको सुन्दर भविष्यका लागि परिवारलाई थाहै नदिइ रुसी सेनामा भर्ती भएका गिरी रुस युक्रेन युद्धका क्रममा अस्ताए । उनी आफुले रुसी सेनामा भर्ती भएको कुरा परिवारलाई जानकारी गराएका थिएनन् । पछि एक्कासी उनको मृत्युको खवर आउँदा परिवार विक्षिब्ध बनेको थियो ।

भरतपुरको प्रेमवस्ती घर भएका राजकुमार गिरी रुसी सेनामा भर्ती हुनुअघि १० वर्षयता रोजगारीको लागि दुबईमा थिए । स्थायी घर धादिङको खानीखोला भएपनि उनले वैदेशिक रोजगारीकै कमाइले भरतपुरको प्रेमवस्तीमा घडेरी जोडे, घर बनाए । श्रीमती र तीन सन्तानलाई त्यहीँ ल्याएर राखे । एक,डेढ वर्षको फरकमा घर आउजाउ गरिरहेका उनी झण्डै डेढ वर्षअघि चितवन आएर पुन दुबई फर्किएका थिए ।
कमाइ ठीकै थियो । एक छोरीको विवाह गरिदिएका थिए भने एक छोरी र छोरा भरतपुरकै एक निजी विद्यालयमा अध्ययन गरिरहेका थिए । तर, दुवईको भन्दा धेरै कमाउने लालचमा उनी गैरकानूनी माध्यम अपनाएर रुसी सेनामा भर्ती हुन पुगे ।

धेरै कमाउने आशमा र परिवरको सुन्दर भविष्यका लागि रुसी सेनामा पुगेका गिरी अन्ततः उतै ढल्न पुगे । उनिसँगै अन्य ५ नेपालीहरुको मृत्यु भएको खवर आएको थियो । त्यतीबेला सारा देश शोकमा ढुबेको थियो ।
अन्तिम सम्पर्कमा उनले रुसी नागरिकताको लागि तस्बिरसमेत खिचाएको बताएका थिए । तर, सम्पर्कको केही दिनमा नै रुस-युक्रेन युद्धमा ज्यान गुमाएका ४४ वर्षका राजकुमारको परिवार अहिले शोकमा छ । मंसिरको १६ गते लडाइँमा मृत्यु भएको अनौपचारिक खबर आएपनि उनको मृत्युको खबर ८ दिनअघि आधिकारिक रूपमा पाएका छन् ।
पछिल्लो समय रुसमा नेपालीहरुको मृत्यु भएको खबर आइरहेको छ । कोही बन्धक भएका छन भने कोही युद्धमा परी ज्यान गुमाएका छन् । धेरै कमाउने लालचमा परी सरकारले रोक लगाएको देशमा अबैध मार्ग अपनाएर नेपालीहरु रुस युक्रेन जाने क्रम बढ्दो रहेको छ । जसका कारण त्यहाँबाट लास जिकाउन समस्या पर्ने साथै क्षतीपुर्ती नपाउने जस्ता समस्याहरु आइपरेका छन् ।
राजकुमार गिरीकै कुरा गर्दापनि उनको मृत्यु भएपनि उनको परिवारले राहात पाउने नपाउने कुनै ठेगान छैन । उनको परिवार क्षतिपूर्ति आउँछ वा आउँदैन अन्योलमा छ ।

राजकुमारका जेठान अर्जुन गिरीका अनुसार उनकै कमाइमा निर्भर परिवार एकातिर मृत्युको खबरले विक्षिप्त छ । भने, अर्कोतिर गैरकानूनी बाटोबाट रुस गएका कारण राहत र शव आउने समेत निश्चित नहुँदा थप पीडामा परेको छ ।
गिरीका अनुसार प्रेमवस्तीको घरमा श्रीमती शर्मिला , बालक छोरो अग्रिम र भाइले प्रेमबस्ती घरमा काजक्रिया गरेका छन् ।
राजकुमारको सालो मनोज गिरीले भने काजक्रियाको काम सकिएपछि परराष्ट्र मन्त्रालयमा गएर क्षतिपूर्तिको लागि निवेदन दिने बताएका छन् ।
उनका अनुसार तिहारको लक्ष्मी पूजाको दिन भिनाजुसँग भएको कुराकानीमा भिनाजुले रुसी नागरिकताको लागि फोटो खिचेर आएको बताएका थिए । त्यसपछि परिवारसँग सम्पर्क हुन नपाइ उनको मृत्युको खबर सुन्नुपरेको उनले बताए ।