Logo

मेघनाथ पहाडी

माघ २६, २०८० शुक्रबार

सरस्वती पूजामा साम्तेन मेमोरियलको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ ।

विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर टेक केयर हेल्थ केयर सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि नै आफ्नो स्वास्थ्य प्रति आफू सजक रहन र केही समस्या देखिए रोगको पहिचान गरेर निदान गर्न विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक गोविन्द धामीले जानकारी दिएका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजामा साम्तेन मेमोरियलले अक्षरारम्भ कार्यक्रम गर्नेछ । सोही दिनबाट साना नानीबाबु विद्यालय गएमा धेरै विद्या प्रदान गर्न सकिने जनविश्वास समेत रहेको छ । त्यसै कारण धेरै नेपाली अभिभावक सरस्वती पूजाका दिनबाट विद्यालयमा अक्षरारम्भ गराउने गरेको पाइन्छ ।

सरस्वती पूजा विशेष अक्षरारम्भ कार्यक्रम २०८० मा साम्तेनले प्ले ग्रुपदेखि युकेजी सम्म निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । त्यसै गरी कक्षा एक देखि कक्षा नौं सम्म नाम दर्ता कार्यक्रम राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निम्तो शेर्पाले जनाएका छन् ।

त्यसै गरी साम्तेन मेघा स्पोर्टस मिट २०८० मा सहभागी भई विभिन्न खेलकुद विधाका विजेता उपविजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रम फागुन २ गते बुधवार बिहान ७ बजेदेखि सरस्वती पूजा, ८ बजेदेखि हेल्थ क्याम्प र ९ बजेदेखि पुरस्कार वितरण कार्यक्रम विद्यालयको प्राङ्गणमा हुनेछ ।

२०६२ सालबाट विद्यालय सञ्चालन गर्दै आएको यस विद्यालयले वि.सं २०८० बाट माध्यमिक तह अन्तर्गत प्लस टु अध्यापन गराउन सुरु गरेको हो । कक्षा ११ पढ्नेलाई १०० प्रतिशत स्कलरसिप दिने व्यवस्था गरेको थियो । विशेष गरी कक्षा ११ मा व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेजले स्कलरसिपको व्यवस्था गरेको हो ।