Logo

भवानी कार्की

फाल्गुन २७, २०८० आईतबार

सामतेन मेमोरियलको १९ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको सामतेन मेमोरियल एजुकेशनल एकेडेमीले आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सफल पर्वतारोही मिङ्मा शेर्पाले जीवनमा धेरै प्रगति गरेर खुसी भए पनि समयमै शिक्षा लिन नपाएकोमा आत्मा सन्तुष्टि नभएको बताए । उनले मानव जीवनमा शिक्षा बिना कुनै कुरा सफल नहुने भन्दै विद्यार्थीलाई राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि क्षेत्रमा सहज सफल हुने धारणा राखेका थिए ।

कार्यक्रममा सिङ्गिङ्, डान्सिङ, स्पिकिङ र राईटिङ स्टारमा उत्कृष्ट हुने १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा सिङ्गिङ् स्टारको प्रथम स्तुति खड्का, द्वितीय सोनाम युटिन शेर्पा र तृतीय पेमा शेर्पा भएका थिए । भने डान्सिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः नितु स्याङताङ, कोहिनुर राई र समीक्षा कुलुङ भएका थिए ।

त्यसै गरी स्पिकिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः छिरिङ शेर्पा, परितोशिका कार्की र युनिका केसी हुन सफल भए भने राईटिङ स्टारको प्रथम, द्वितीय र तृतीय क्रमशः निमा सङ्गुम शेर्पा, ङिमा सङ्गुम शेर्पा र पेमा शेर्पा भएका थिए ।

सामतेन मिस्टर किड २०८० मा सोनाम शेर्पा विजयी बन्न सफल भए भने सामतेन मिस किडको विजयी मानुषी बस्नेत बनेकी थिइन् ।

कार्यक्रममा पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले शिक्षामा सरकारले लगानी थप गर्नुपर्ने धारणा राखेका थिए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा अन्तर हुनुनहुने बताए । दोलखाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्तिमा अध्यापन गराएकोमा सामतेन मेमोरियल एजुकेशनल एकेडेमीलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द धामीले सामतेनले साधारण शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताएका थिए । पढाइमा मात्र नभएर विद्यालयले विभिन्न विद्यामा सामतेन मेमोरियल एजुकेशनल एकेडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको समेत बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निम्तो शेर्पाले २०६२ सालबाट विद्यालय सञ्चालन गर्दै आएको यस विद्यालयले विसं २०८० बाट माध्यमिक तह अन्तर्गत प्लस टु अध्यापन गराउन सुरु गरेको बताए । कक्षा ११ पढ्नेलाई १०० प्रतिशत स्कलरसिप दिने व्यवस्था गरेको थियो । विशेष गरी कक्षा ११ मा व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेजले स्कलरसिपको व्यवस्था गरेको हो ।