Logo

मेघनाथ पहाडी

चैत्र ६, २०८० मंगलबार

फिक्कल आधारभूत अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ । फिक्कल आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ३ स्थित चनौटेमा उक्त अस्पताल निर्माण सम्पन्न भएको हो ।

अस्पताल ५ करोड ४७ लाख ८२ हजार १ सय ५२ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले बागमती पेजलाई जनाए । उक्त अस्पताल ११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले अस्पतालको भौतिक निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने बताएकी छन् । उनले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयसँग अस्पताल सञ्चालनका लागि आवश्यक समन्वय पालिकाले गरिरहेको जानकारी दिएकी छन् ।

अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू विभिन्न दातृ निकाय तथा पालिकाको पहलमा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबाट ल्याउन पहल भइरहेको अध्यक्ष सुनुवारले बताइन् । अस्पतालमा आवश्यक कर्मचारी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्नुपर्ने हुन्छ त्यसका लागि समेत हामी तयारी गर्दै छौँ । नयाँ आवबाट अस्पताल सञ्चालनमा ल्याउन पालिकाले पहल गरेको छ ।

पालिका उपाध्यक्ष राजु बरालले भने निर्माण सम्पन्न भयो तर अस्पताल सञ्चालन गर्न आवश्यक बजेट पालिकामा छैन । ३ करोड बजेट भए अस्पताल सञ्चालनमा ल्याउन सकिने उनको भनाई छ । उनले भने, ‘सरकारले नीति नबनाएर हामीलाई सहयोग गरे अस्पताल सञ्चालनमा सहज हुन्छ, नत्र पालिकाले अस्पताल सञ्चालन गर्न सक्ने स्थिति अहिले छैन ।’

१० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको फिक्कल ३ का वडाध्यक्ष टेक बहादुर रजन मगरले जानकारी दिए । सबैलाई सहज होस् भनेर गाउँपालिकाको मध्य भाग चनौटेमा अस्पताल निर्माण गरिएको उनको भनाई छ ।

फिक्कल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् । सामान्य उपचार बाहेक अन्य केही भएमा पालिकामा बिरामीलाई उपचार हुँदैन । त्यस्ता बिरामी सदरमुकाम सिन्धुलीमाढी तथा काठमाडौँ उपचारका लागि लानुपर्ने स्थिति छ । यो आधारभूत अस्पताल सञ्चालनमा आए फिक्कलका सयौँ बिरामीले पालिमा स्तरमै उपचार पाउने छन् ।

आव २०७८ मङ्सिर ३ गते अस्पताल निर्माण गर्न २ वर्षको समयावधि राखेर सम्झौता गरिएको भौतिक पूर्वाधार शाखा प्राविधिक प्रदीप खुलालले बताए । तोकिएकै समयमा आर्सीवाद निर्माण सेवा उदयपुरले ०८० पुस ३० गते निर्माण सम्पन्न गरेको छ । निर्माण सम्पन्न अस्पताल छिट्टै पालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको निर्माण कम्पनीले जनाएको छ ।