Logo

मेघनाथ पहाडी

चैत्र १४, २०८० बुधबार

अर्थतन्त्रमा पर्यटनको भूमिका महत्त्वपूर्ण: प्रदेश सभा सदस्य मीना श्रेष्ठ


काठमाडौँ । कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले देशको अर्थतन्त्रमा पर्यटनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । उनले कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै आन्तरिक पर्यटन विकासबाट देशको आयस्रोत बढाउन सकिने बताएकी हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय बालुवाटारमा भएको लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम स्थानीय तहसँगको नयाँ र उपलब्धिमूलक रहेको बताइन् । उनले कोशी प्रदेश भित्रका विभिन्न धार्मिक एवं अन्य पर्यटकीय क्षेत्रको विकासका लागि एनआरएनएसँग सहकार्य गर्न अनुरोध गरिन् ।

कोशी प्रदेश भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने ठुला आधार छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, हलेशीधाम, पाथिभारा, बराह क्षेत्र लगायतका अन्य महत्त्वपूर्ण स्थानको पर्यटन प्रवर्द्धन तथा विकासका लागि एनआरएनएलाई सहयोग गर्न समेत सुझाइन् ।

प्रदेश सभा सदस्य मीना श्रेष्ठले भनिन्, “पर्यटन ठुला आर्थिक क्षेत्रमध्ये एक हो । विश्वका कैयौँ मुलुक पर्यटन उद्योगको विकास गरेर प्रादेशिक सन्तुलनसहितको दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले नयाँ आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सृजना, कुल आम्दानी तथा उत्पादन वृद्धि जस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ ।”

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गर्ने इच्छा भएको र जिम्मेवारी दिए सफल रूपमा जिम्मेवारी सम्हाल्न तयार रहेको समेत उनले बताइन् ।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली सङ्घसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका देव दह, रामग्राम, लुम्बिनी सांस्कृतिक र कपिलवस्तु गरी ४ वटा नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।