Logo

बागमती पेज

चैत्र १५, २०८० बिहीबार

मौसमविद् भन्छन्, शनिबारसम्म राम्रोसँग आकाश नउघ्रिन


काठमाडौं । देशैभर अझै दुई/तीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद् शान्ति कँडेलले ‘आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा नहुने बताएकी छन् ।’

अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।

गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा भएको मौसमविद् कँडेलले जानकारी दिइन् ।