Logo

बागमती पेज

चैत्र १६, २०८० शुक्रबार

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनै पर्छ।’’

सशक्तीकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो।सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।

सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा कर छूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताउनुभयो।