Logo

भवानी कार्की

चैत्र २८, २०८० बुधबार

नयाँ वर्षमा घुम्न जाने योजनामा हुनुहुन्छ ? यी हुन उपयुक्त गन्तव्य  


काठमाडौँ । नयाँ वर्ष सबैका लागि खास हुन्छ । नयाँ वर्ष भन्ने वित्तिकै नयाँ सालको आगमन मात्र नभएर नयाँ जोस,जाँगर उमंगको साथसाथै एउटा नयाँ विचारको पनि सुरुवात हो । नयाँ वर्षमा मानिसहरुले अक्सर घुम्न जाने योजना बनाएका हुन्छन् । वर्षभरीको काम र संघर्षलाई बिर्षेर एक दिन भएपनि मुड फ्रेस बनाउने सबैको चाहाना हुन्छ । त्यसकारण मानिसहरु घुम्ने ठाउँको खोजीमा हुन्छन् ।

हुनत नेपाल प्राकृतिक सौन्दर्यले भरिपुर्ण देश हो । यहाँ जहाँ गएपनि सुन्दरताको कमि छैन । तर कतिपय मासनिसहरु आफ्नो समय व्यस्तताका कारण नजिकको गन्तव्यको खोजीमा हुन्छन् । विशेषगरी काठमाडौँ उपत्यकामा मानिसहरुलाई सहजै पुग्न सकिने र रमाइलो ठाँउको चाहाना बढी हुन्छ ।

काठमाडौँ उपत्यकामा त्यस्ता धेरै ठाउँहरु छन् जहाँ सुन्दरताको साथसाथै सहजै पुग्न अनि रमाउन सकिन्छ । कतिपय मानिसलाई ती गन्तव्यको बारेमा थाहा नहुन सक्छ । आज हामि यसै विषयमा चर्चा गर्नेछौँ । उपत्यकामै सहजै रमाइलो गर्न सकिने ठाँउहरुका बारेमा बृस्तीतमा तल प्रस्तुत गरिएको छ ।

पहिलो नम्बरमा छ चन्द्रागिरीः  चन्दागिरी उपत्यकाबाट नजिक पर्ने गन्तव्य स्थल हो । धार्मिक र एतिहासिक महत्वको कारण चर्चित पर्यटकीय गन्तव्यको रुपमापनि चन्द्रागिरी अगाडी रहेको छ । चन्द्रगिरिमा केबलकार चल्न थालेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । त्यसकारण चन्द्रागिरी तपाईँको रोजाई बन्न सक्छ ।

शिवपुरीः शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । समुद्री सतहबाट २ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । घना जंगलको उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमालको मनोरम दृश्यका साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधा सम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।

नगरकोटः काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन पनि सकिन्छ । त्यस्तै,सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

मिनी इलामः उपत्यकाबाट नजिक रहेको मिनी इलाम पनि पर्यटनको लागि महत्ब गन्तव्य हो । यस ठाउँलाई भोटेचौर भनेर चिन्ने गरेका छन् । काठमाडौँबाट ३८ किलोमिटर दुरीमा रहेको छ ।

त्यस्तै रहेको छ धुलीखेलः धुलिखेल काठमाडौंबाट नजिकै रहेको प्रख्यात गन्तव्य हो । जहाँ जो कोही पुगरे रमाइलो गर्न सकिन्छ । त्यहाँ पुग्नको लागि सहजै मोटर गाडी पाउन सकिन्छ । धुलीखेलबाट पनि विभिन्न हिमशृङखलाहरु अवलोकन गर्न सकिन्छ ।

टौदहः काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्ट्याउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थान अत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ ।

काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ ।

पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छायाँ देख्न पाइन्छ ।

कालिञ्चोेकः काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।

दामनः  दामन पनि काठमाडौंबाट नजिकको गन्तव्य हो । दामन मकवानपुर जिल्लामा पदर्छ । यहाबाट सगरमाथा लगायत हिम शृंखलाहरुको दृश्य देखन पाइन्छ ।  दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ । 

कुलेखानीः  कुलेखानी मकवानपुर जिल्लामा पदर्छ । काठमाडौं उपत्यकाबाट फर्पिङ हुदै ४५ किलोमिटरको दुरीमा रहेको छ । यस ठाउँ काठको डुङगा र माछाको लागि प्रख्यात पर्यटनको रुपमा पर्दछ ।

नमोबुद्धः नमोबुद्ध पनि काभ्रेकै अर्को रमणीय पर्यटकीय स्थल हो । धुलिखेलबाट नजिक पर्छ । यहाँको मुख्य अवलोकन स्थल नमोबुद्ध गुम्बाको हो । यहाँबाट गौरीशंकर, लाङटाङ लगायतका हिमालहरूको मनोमोहक दृश्य पनि हेर्न सकिन्छ ।