Logo

मेघनाथ पहाडी

चैत्र २८, २०८० बुधबार

एमालेका नेताकार्यकर्ता समाज परिवर्तनको काममा लाग्नुपर्छः महासचिव पोखरेल


काठमाडौं । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले एमालेका नेताकार्यकर्ता समाज परिवर्तनको काममा लाग्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तनभन्दा समाज परिवर्तनको काम महत्वपूर्ण र ठुलो भएको बताए । उनले विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न निर्देशन दिए ।

महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको जनाए । नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै हुने गरे पनि उपलब्धिलाई संस्थागत गर्ने कुरामा भने सँगै उभिन नसकेको भनाइ राखेका थिए।

महासचिव पोखरेलले भने– जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ, कांग्रेसले सदैव आफूलाई परिवर्तनका विरुद्धमा उभ्याउने गरेको छ ।

कांग्रेसले यो इतिहासलाई २००७, ०४६ र ०६३ मा पनि दोहोर्याएको र कांग्रेसले हरेक आन्दोलनलाई सम्झौतामा गएर टुङ्ग्याउने र परिवर्तनलाई संस्थागत हुन नदिने गरेको भनाइ महासचिव पोखरेलले राखेका थिए ।

उनले माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याएको भए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको हो भन्ने कुरा बिर्सन नहुने बताए।

यो परिवर्तनको बाहक नै माओवादी हो भन्ने भाष्य निर्माण गर्ने काम भएको भन्दै उनले त्यो सत्य नभएको धारणा राखे ।

अहिले जनतामा निराशा बढेको बताउँदै महासचिव पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने धारणा समेत व्यक्त गरे । अन्यथा नागरिकमा बढेको निराशा चिर्न नसकिने उनले स्पष्ट पारेका थिए ।

देश बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले त्यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउँदै त्यो सच्चाइलाई बुझेर पार्टी निर्माणको काममा लाग्न र आफूले लिएको जिम्मेवारी पुरा गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पार्टीको अधिवेशनका बेलमा तँछाडमछाड गर्ने तर बैठक बस्ने बेलामा कोरम नै नपुग्ने परिपाटीले पार्टी नचल्ने उनले स्पष्ट पारे । जनताको बिचमा नेताहरूलाई स्थापित गर्नुको सट्टा नेतालाई खुइल्याएर पार्टी नबन्ने उनको भनाई थियो। महासचिव पोखरेलले भने– नेतृत्वलाई जनताको बिचमा स्थापित गर्ने कुरा पार्टी निर्माणको महत्वपूर्ण विषय हो ।

कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्यहरू खेमप्रसाद लोहनी, गणेश पहाडी, उमा कोइरालालगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए थियो ।