Logo

मेघनाथ पहाडी

बैशाख १, २०८१ शनिबार

बुढानीलकण्ठ नगर अस्पताल अध्यक्ष ओलीद्वारा उद्घाटन, स्वास्थ्य बिमा सुरु


काठमाडौँ । बुढानीलकण्ठ नगर अस्पताल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन भएको छ । नयाँ वर्षको अवसर पारेर बुनपा–१० स्थित डिट्ठा चौरमा उक्त नगर अस्पताल अध्यक्ष ओलीले रु एक हजार तिरेर सेवा लिएर उद्घाटन गरेका हुन् ।

बुढानीलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको नगर अस्पताल उद्घाटन भएसँगै नगरमा स्वास्थ्य बिमा कार्यक्रम पनि सुरु गरिएको नगर प्रवक्ता नवराज भट्टराईले जनाएका छन् । नवनिर्मित अस्पताल भ्रमण गर्दै अध्यक्ष ओलीले स्वास्थ्य जाँच समेत गरेका थिए ।

अध्यक्ष ओलीले नयाँ वर्षको उत्साहका साथ नगर अस्पताल आफ्नै गाउँठाउँमा खुलेपछि नगरवासीहरुलाई यहीबाट सेवा लिन अनुरोध गरे । आजैबाट सुरु गरिएको स्वास्थ्य बीमा नागरिकलाई नगरले सहज सरल रुपमा प्रदान गर्न अनुरोध गरेका थिए । उनले अस्पतालमा आउने बिरामी उपचार मात्र हैन रोग नियन्त्रणका विभिन्न स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम गर्न नगरलाई सुझाए ।

उनले भने, ‘खानपिन र विभिन्न खालका प्रदुषणबाट धेरै रोगहरु लाग्ने गरेका छन् । नेपालमा स्वास्थ्यको अवस्था सुध्रिएको छ । कोभिडले हामी नेपालीका आँखा खोलेको छ । अब हामी पहिला भन्दा आफ्नो ख्याल राख्न थालेका छौं । खानपीनमा हामीले अझै धेरै ध्यान दिन आवश्यक छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा ३९६ वटा अस्पताल एकै ठाउँबाट सुरु गरिएको स्मरण गर्दै विभिन्न स्थानीय तहमा यस्तै खालका सेवा सुविधाहरु हरेक पालिकामा सहज रुपमा उपचार होस् भनेर सुरु गरेको बताए ।

नगर प्रमुख मिठाराम अधिकारीले नगरले बजेट निर्माण गर्दा शिक्षा र स्वास्थ्यमा प्रथामिकता दिएको जनाए । उनले पूर्वाधार खडा गर्नुमात्र उपलब्धि होईन । नगर अस्पतालमा न्युन शु:ल्कमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।

नगर उपप्रमुख अनिता लामाले नगरको गौरवको आयोजना नगर अस्पताल आजबाट उत्साहका साथ उद्घाटन गरेको बताइन् । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । हामीले आजबाट यहाँहरु समक्ष ओपीडी सेवा सुभारम्भ गरेका छौँ । उनले आगामी दिनमा १४ वेडमा विरामी भर्ना गरेर उपचार गर्न सकिने गरी अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताइन् ।