Logo

बागमती पेज

बैशाख ५, २०८१ बुधबार

दुबईमा ७५ वर्षयताकै उच्च वर्षा : जलमग्न भयो एयरपोर्ट र सडक, सुरक्षित बस्न आग्रह


संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । सडकमा बाढी आएको छ । केही सडक भत्किएका छन् ।

असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरू जलमग्न भएका थिए।

पछिल्लो २४ चौबिस घन्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ। वर्षाका कारण सडक नै खोला बनेपछि यातायात अवरूद्ध भएको छ।

सडकमा रहेका गाडीका आधाभन्दा बढी भाग डुबेको तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले सार्वजनिक गरेका छन्।

विश्वमा सबैभन्दा बढी व्यस्त हुने विमानस्थलहरूमध्ये दोस्रो नम्बरमा पर्ने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान प्रभावित भएको छ।

विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनभित्र समेत पानी पसेको थियो। धावनमार्ग जलमग्न भएपछि उडान प्रभावित भएको त्यहाँको सञ्चारमाध्यहरूले जनाएका छन्।

उडान प्रभावित हुँदा मानिसहरू विमानस्थलमै रोकिएका छन्।

बुधबार विमानस्थल कार्यालयले उडान सहज हुन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ। एजेन्सी