Logo

बागमती पेज

बैशाख १०, २०८१ सोमबार

भन्सार विभागका अनुसार,नौ महिनामा साढे १० खर्ब व्यापार घाटा,


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो ।

चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सुरुआती नौ महिना अवधिमा मुलुकले कूल रु १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा ब्यहोरेको थियो ।

नेपालले सबैभन्दा ठुलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा ब्यहोरेको छ । भारतबाट रु सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा रु ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ ।