Logo

बागमती पेज

बैशाख ११, २०८१ मंगलबार

इलाममा तात्यो चुनावी माहौल, कसले मार्ला बाजी 


काठमाडौँ । यती बेला धेरैजसोको ध्यान इलाम दुई मा छ । वैशाख १५ गते हुने उपनिर्वाचन नजिकिएसँगै इलाममा चहलपहल निकै बढेको छ । निर्वाचनमा होमिएका  काँग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरूको यती बेला रस्साकस्सी छ । यी तीन दलहरू यती बेला आफ्नो पार्टीलाई जिताउन सक्रिय भएर लागि परिरहेका छन् । 

काँग्रेसका उम्मेदवार डम्बर खड्का, एमालेबाट स्वर्गीय सुवासचन्द्र नेम्वाङ सुपुत्र सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बु यती बेला आआफ्नो पार्टीले जित्ने दाबी गरिरहेका छन् । तर कसले मार्ला त बाजी, त्यसको परिणाम आउन भने बाँकी छ । इलामका जनताहरुले कसलाई चुन्लान् त यो सबैको चासोको विषय बनेको छ । 

इलामका कतिपय जनताहरुले काँग्रेसका डम्बर खड्काका नाम लिएका छन् । कतिपयले युवा पुस्तालाई अगाडी बढाउनुपर्छ भन्ने हेतुले सुहाङ नेम्वाङलाई साथ दिएका छन् भने कतिपय भने इलामलाई घण्टीमय बनाउन रास्वपाका मिलन लिम्बुलाई साथ दिइरहेको अवस्था छ । दलहरू पनि आ–आफ्ना अडानमा छन् ।

२०७९ सालको निर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता सुवास नेम्वाङको गत भदौ २५ मा हृदयाघातबाट निधन भएको थियो । उनको निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो ।

यसो त इलामाको पृष्ठभूमि हेर्ने हो भने साढे दुई दशकयताको निर्वाचनमा एमाले नै प्रभावशाली देखिएको छ । २०५६ सालयताका सबै चुनावमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसकै तुलना गर्नुपर्दा हरेक निर्वाचनमा काँग्रेसले उम्मेदवार फेर्दै आए पनि सफलता पाउन सकेको थिएन ।

बुवाको निधनपछि जिम्मेवारी सम्हाल्छु भन्दै सुहाङ कस्सिएका छन् । बुवाको राजनीतिक आडमै उनको चुनाव जित्ने दाबी छ । यता रास्वपा पनि उत्तिकै कस्सिएको छ । सत्ता साझेदार रास्वपाले माओवादी केन्द्रको आबद्धता छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुलाई आफ्नो पार्टीमा भित्र्याएर टिकट दिएको हो । पत्रकार पृष्ठभूमिका लिम्बु यसअघि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल उपत्यका सचिव समेत थिए । अहिले रास्वपालाई प्रतिनिधित्व गरेका लिम्बुले कत्तिको बाजी मार्लान् यो हेर्नै बाँकी छ । 

आदिवासी जनजाति पत्रकार महासङ्घको महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका लिम्बुलाई साथ दिन रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू इलाम मै छन् । सभापति लामिछाने स्वयं इलाम पुगेर लिम्बुको उम्मेदवारी घोषणा गरेका थिए । रास्वपा सँगै अन्य पार्टीहरूले पनि बेजोडका साथ लागिपरेकाले पनि प्रतिस्पर्धा झनै रोचक बनेको छ ।