Logo

बागमती पेज

जेष्ठ ३, २०८१ बिहीबार

सदनमा जे भयो त्यसको मुख्य कारण सभामुख हुन: महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार संसदमा हंगामा मच्चिनुमा सभामुख देवराज घिमिरेको मुख्य कारण रहेको दावी गरेका छन् । बिहीबार संसदमा हँगामा भएको थियो । जसको कारण प्रतिनिधिसभा बैठकनै स्थगित भएको थियो ।
महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा बैठकमा सभामुख देवराज घिमिरेका कारण मुठभेडको अवस्था आएको बताएका हुन । बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुख घिमिरेले सदनमा जबरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको बताएका हुन् ।
उनले भनेका छन् ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । उनले भने सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’,
महामन्त्री थापाले सदन अवरोध गरिराख्ने कांग्रेसको चाहना नरहेको पनि बताए । उनले निश्चित समय राखेर छानबिन गरे गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका हुन् । सदनलाई अवरोध गर्ने चाहान नभएको पनि उनले बताए ।
उनले संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने पनि बताए । ‘गृहमन्त्री, प्रधानमन्त्रीले बोल्ने कुरा हामीले तोक्ने होइन तर संसदीय छानबिन समिति गठन नहुँदासम्म सदनको कामकारबाही अघि बढ्दैन,’ महामन्त्री थापाले भने ।
महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदलाई आफ्नो कार्यकर्ता सम्झिएको बताए । आफुहरु ओलीको कार्यकर्ता नभएको भन्दै अरुलाई अह्राउन तर्फ नलाग्न चेतावनी समेत दिएका छन् । साथै सदनका बारेमा पनि सबैले सोच्नुपर्ने उनको भनाई छ ।