Logo

बागमती पेज

जेष्ठ २५, २०८१ शुक्रबार

उज्यालो भविष्य ११ औं वर्षमा प्रवेश, १० जना सम्मानित 


काठमाडौँ । उज्यालो भविष्य दोलखाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गरेको छ । स्थापना दिवसको १० वर्ष पुरा गरेको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील  मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण, महिला तथा बालबालिको अधिकार लगायतका क्षेत्रमा क्रियाशील रहेका व्यक्तिलाई सम्मान गरेको हो । 

कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दी पुरुष  एक सय दुई वर्ष हरि बहादुर बस्नेत, सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका प्रमुख मिना कार्की बस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग सिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तमाङ्ले सम्मान गर्नु भएको थियो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले दोलखामा निर्माणाधीन फिल्मशिटीको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालमा धार्मिक पर्यटक भित्राउन काठमाडौँको पशुपति नाथ, लुम्बिनी, पोखरा लगायतका क्षेत्रको विशेष व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद गङ्गा कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटी, नेपाली काँग्रेसका नेता तारा बहादुर कोइराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली काँग्रेसका महासमिति सदस्य एवं तरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता बद्री कुमार चौल गाई, नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली काँग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सभापति सरोज सिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य राख्नुभएको थियो ।